
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण
काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावका बीच बिहीबार बिहान कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल क्षेत्रलाई लक्षित गर्दै धेरै ड्रोन प्रहार हुँदा केही संरचनामा भौतिक क्षति पुगेको छ।
सरकारी समाचार एजेन्सी केयूएनएले सार्वजनिक गरेको वक्तव्यअनुसार उक्त आक्रमणबाट कुनै मानवीय क्षति भने भएको छैन। सुरक्षा कारण देखाउँदै यसअघि नै विमानस्थलबाट हुने व्यावसायिक उडानहरू स्थगित गरिएका थिए भने कुवेतको आकाशमार्ग पनि अस्थायी रूपमा बन्द गरिएको बताइएको छ।
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय युद्धको तनाव बढ्दै गएको छ। इरानले क्षेत्रका ऊर्जा संरचनालाई लक्षित गर्दै प्रतिकारात्मक आक्रमणहरू तीव्र पारेको बताइएको छ। सोही क्रममा इराकी जलक्षेत्रमा रहेका दुई विदेशी तेल ट्यांकरमाथि पनि हमला भएको खबर सार्वजनिक भएको छ।
यसैबीच ओमानमा इन्धन भण्डारण ट्याङ्कमा आगलागी भएको छ, जहाँ आपत्कालीन टोलीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ। त्यस्तै बहराइनले पनि आफ्नो देशका इन्धन ट्याङ्कलाई लक्षित गर्दै इरानबाट आक्रमण भएको दाबी गरेको छ।
क्षेत्रीय तनाव बढ्दै जाँदा मध्यपूर्वका विभिन्न देशहरूमा सुरक्षा सतर्कता कडा बनाइएको छ।



कागजपत्र |
