
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइनेछ : मुख्यमन्त्री बानियाँ
बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गरिने बताएका छन्।
हेटौँडा अस्पतालमा थप २०० शय्याको विशिष्टकृत सेवा दिने नवनिर्मित भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
उनले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले प्रमाणपत्र लिने समयसम्म यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गरिसक्ने लक्ष्य राखिएको बताए। “प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीहरूले प्रमाणपत्र लिने बेलासम्म यो विश्वविद्यालय बनिसकेको हुनेछ,” उनले भने, “यसका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।”
मुख्यमन्त्री बानियाँले लोकतन्त्र गरिबमुखी व्यवस्था भएकाले गरिब नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले हेटौँडा अस्पतालमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने पनि स्पष्ट पारे।
उनका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा मात्रै होइन, बागमती प्रदेशका सबै १३ जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गर्नुपर्नेछ। प्रतिष्ठानबाट उत्पादन हुने स्वास्थ्य जनशक्तिले प्रदेशका जिल्ला तथा पालिकास्तरका अस्पतालहरूमा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
स्वास्थ्य सेवामा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय उपचार उपलब्ध गराउने दिशामा प्रदेश सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले हेटौँडा अस्पतालमा डायलाइसिस सेवाका लागि हाल १४ वटा मेसिन सञ्चालनमा रहेकामा थप १६ वटा जडान गरी कुल ३० वटा पुर्याइएको जानकारी दिए।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र आवश्यक उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले गरिब तथा विपन्न परिवारका छोराछोरीलाई डाक्टर बन्न सहयोग पुर्याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको पनि बताए।
उनले उपचारको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने दिशामा प्रदेश सरकार काम गरिरहेको बताए।
कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री एकालाल श्रेष्ठले अस्पतालको नयाँ भवन निर्माणसँगै स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारमा सहजता आउने विश्वास व्यक्त गरे।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार हेटौँडा अस्पतालको नयाँ भवन भ्याटसहित कुल २६ करोड ६४ लाख २५ हजार २८० रुपैयाँको लागतमा निर्माण गरिएको हो।



कागजपत्र |
