
नेतृत्व वरिपरिका ‘गलत सूचना दिने झुण्ड’का कारण एमाले कमजोर भयाे : लेखराज भट्ट
कैलाली- नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफ्नो निर्वाचन पराजयको संकेत आफूलाई चुनावअघि नै प्राप्त भइसकेको बताएका छन्। बुधबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले निर्वाचन मैदानमा उत्रिनुअघि नै हार हुने आभास भए पनि आफू उम्मेदवार भएकाले त्यो कुरा सार्वजनिक नगरेको बताएका हुन्।
उनले पार्टी नेतृत्व वरिपरि रहने केही व्यक्तिहरूको समूहले गलत सूचना प्रवाह गर्ने प्रवृत्तिका कारण पार्टीले अहिलेको अवस्था भोग्नुपरेको टिप्पणी गरे। नेतृत्वसँग निकट देखिन फोटो खिचाउने र अनावश्यक भीड देखाउने प्रवृत्तिले वास्तविक राजनीतिक धरातलभन्दा फरक चित्र प्रस्तुत गर्दा पार्टीलाई नोक्सानी पुगेको उनको भनाइ थियो।
भट्टले चुनावका क्रममा आफ्नै पार्टीका केही नेता तथा कार्यकर्ताले जग्गा बेचेर भए पनि चुनाव लड्न सुझाव दिएको प्रसङ्ग पनि स्मरण गरे। राजनीतिमा बढ्दो आर्थिक मोह र संस्कारहीनताको प्रवृत्तिले आफूलाई चिन्तित बनाएको उनले बताए। कार्यकर्ताहरू पैसाबिना चल्न नसक्ने अवस्थासम्म पुग्नुले पार्टीको वैचारिक धरातल कमजोर भएको र संगठन चेन अफ कमाण्डअनुसार सञ्चालन हुन नसकेको उनको टिप्पणी थियो।
साढे ६ लाख संगठित सदस्य रहेको दाबी गर्ने पार्टीले आफ्नै सदस्यहरूको मत समेत जोगाउन नसक्नु गम्भीर विषय भएको भट्टले उल्लेख गरे। संगठनले जनतासँग प्रभावकारी समन्वय गर्न नसक्दा मतदाताहरूले नेताहरू आफूहरूलाई भेट्न नआएको गुनासो गर्ने अवस्था आएको उनले सुनाए।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ गएको मतलाई उनले विचार र सिद्धान्तभन्दा बढी ‘सामयिक फेसन’को रूपमा व्याख्या गरे। यद्यपि, आफ्नै कमजोरीका कारण मतदाताहरू अन्यत्र आकर्षित भएको पनि उनले स्वीकार गरे।
भट्टले आफूले आफ्नो क्षेत्र र देशको विकासका लागि इमानदार प्रयास गरेको दाबी गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए। निर्वाचन परिणामलाई सम्मान गर्दै अब पार्टीभित्र गम्भीर र निर्मम समीक्षा हुनुपर्ने तथा संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा उनले जोड दिए। पराजयका बाबजुद आफू र पार्टी विचलित नभई जनताको सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।



कागजपत्र |
