
कर्णालीको समानुपातिक मत परिणाम: कांग्रेस पहिलो, रास्वपा दोस्रो
सुर्खेत – हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ अपेक्षाकृत कमजोर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ भने दोस्रो ठूलो दल बनेको छ।
प्रदेशका १२ निर्वाचन क्षेत्रमा भएको मतदानको समानुपातिक मतगणनाअनुसार रास्वपाले एक लाख २९ हजार ७३६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो। कर्णालीमा पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ३४ हजार ३३३ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ तेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ। एमालेले एक लाख ११ हजार ७११ मत प्राप्त गरेको छ। कर्णालीलाई आफ्नो मुख्य आधार क्षेत्र मान्दै आएको नेकपाले भने ९९ हजार ८४२ मतसहित चौथो स्थानमा चित्त बुझाएको छ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मत प्राप्त गर्दै प्रत्यक्षतर्फ विजयी भएका थिए। सोही आधारमा राप्रपाले कर्णालीमा समानुपातिकतर्फ १५ हजार ३५७ मत प्राप्त गरेको छ।
त्यस्तै रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए। उनको दलले कर्णालीबाट समानुपातिकतर्फ आठ हजार २२९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कर्णालीमा पाँच हजार ८४४ मत प्राप्त गरेको छ।
यद्यपि प्रत्यक्षतर्फ रास्वपाले प्रदेशमा एक सिट मात्र जितेको छ। सुर्खेतका दुई निर्वाचन क्षेत्र, दैलेख–१ र सल्यान बाहेकका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा धरौटीसमेत जफत भएको छ।



कागजपत्र |
