
एमालेको हारपछि उठ्यो नेतृत्व परिवर्तनको बहस, झाँक्री भन्छिन्– समीक्षा पार्टीभित्रै हुन्छ
काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)ले अपेक्षाकृत कमजोर नतिजा व्यहोरेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको विषय उठ्न थालेको छ। यसबीच एमाले नेतृ रामकुमारी झाँक्रीले निर्वाचनको समीक्षा र नीति तथा नेतृत्व परिवर्तनसम्बन्धी बहस पार्टीभित्रै हुनुपर्ने बताएकी छन्।
आज राष्ट्रियसभा सदस्य पदको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीका विषयलाई सार्वजनिक बहसको विषय बनाउनु हतारो हुने टिप्पणी गरिन्।
उनले भनिन्, “यी सबै विषयहरू पार्टीका आन्तरिक मामिला हुन्। यसलाई सडकको विषय बनाउनु हतारो हुन्छ। समयभन्दा अगाडि समीक्षा गर्न हतार गर्नु हुँदैन। अहिले भर्खरै मतगणनाका परिणामहरू आउँदै छन्। सबै परिणाम आएपछि पार्टीका तहगत कमिटीहरूको बैठक बस्छ र त्यही बैठकमा समीक्षा तथा छलफल हुनेछ।”
झाँक्रीले नेतृत्व परिवर्तनबारे नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका धारणा व्यक्तिगत मात्रै भएको स्पष्ट पारिन्।
उनले भनिन्, “व्यक्तिगत विचारहरू फेसबुक स्टाटस, सामाजिक सञ्जाल, भर्चुअल प्लेटफर्म वा मिडियामार्फत व्यक्त भएका हुन सक्छन्। तर ती धारणाहरू पार्टीको बैठकले आधिकारिक रूपमा स्वीकार नगरेसम्म ती सबै व्यक्तिगत विचार मात्र हुन्।”



कागजपत्र |
