
कर्णालीमा कांग्रेस पहिलो पार्टी, रास्वपाको एक सिट मात्रै
काठमाडौं — गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव देखिए पनि कर्णाली प्रदेशमा भने प्रत्यक्षतर्फ रास्वपा कमजोर देखिएको छ।
कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये रास्वपाले एक सिट मात्रै जित्न सफल भएको छ। प्रदेशमा नेपाली कांग्रेस पाँच सिट जित्दै पहिलो पार्टी बनेको छ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चार सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ। नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने एक–एक सिट जितेका छन्।
नेपाली कांग्रेसबाट मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाय, जाजरकोटमा खड्कबहादुर बुढा, दैलेख–१ मा वासना थापा र सुर्खेत–१ मा विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट जुम्लामा ज्ञानबहादुर शाही विजयी भएका छन् भने नेकपा (एमाले) बाट दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुर्खेत–२ मा रमेश सापकोटा निर्वाचित भएका छन्।



कागजपत्र |
