
कांग्रेस सभापति गगन थापा पराजित, अमरेशकुमार १२ हजार मतान्तरले विजयी
सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।
बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।
सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ । यसअघि यो क्षेत्रमा सिंह स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।
नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।
एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।



कागजपत्र |
