भ्रामक सूचना रोक्न गगन थापाको आह्वान


काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचना र फेक सामग्रीप्रति सजग रहन तथा त्यस्ता सामग्री तुरुन्त रिपोर्ट गर्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले निर्वाचन नजिकिँदै जाँदा आफू स्वयं तथा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई लक्षित गरी असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सुनियोजित रूपमा फैलाइँदै आएको बताएका छन्। मौन अवधिमा समेत यस्ता गतिविधि तीव्र बनेको उनको भनाइ छ।

यस सन्दर्भमा उनले भनेका छन्, ‘यो केवल निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारमाथिको गम्भीर आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत र सक्रिय सहभागिता अत्यन्तै आवश्यक छ।’

सभापति थापाले फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा आफू, पार्टीका उम्मेदवार वा नेपाली कांग्रेसबारे फेक सामग्री देखिएमा तत्काल रिपोर्ट गर्न आग्रह गरेका छन्।

उनले कुनै पनि सामग्री शेयर गर्नुअघि एकछिन रोकेर त्यसको सत्यता जाँच्न समेत अनुरोध गरेका छन्। ‘अत्यधिक सनसनीपूर्ण, उत्तेजक वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ,’ उनले भनेका छन्, ‘सत्य, विवेक र जिम्मेवार व्यवहारले मात्र भ्रमलाई परास्त गर्न सकिन्छ।’

प्रतिक्रिया