
मोरङ–६ मा बलियो एकता: डा. शेखर कोइरालाको जित अब औपचारिकता मात्र
मोरङ – मोरङ–६ को प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक समीकरण एकाएक स्पष्ट बन्दै गएको छ। पछिल्लो घटनाक्रमले यहाँ डा. शेखर कोइरालाको जित लगभग सुनिश्चित भएको संकेत दिएको छ।
क्षेत्रका तीन उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै सार्वजनिक रूपमा कोइरालालाई समर्थन गर्ने घोषणा गरेपछि चुनावी प्रतिस्पर्धा एकतर्फी बन्दै गएको छ। नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (नेपाल) र जनमत पार्टीका उम्मेदवारहरू समर्थनमा उत्रिएपछि मोरङ–६ को समीकरण निर्णायक रूपमा परिवर्तन भएको छ। यसअघि पनि केही साना दल र स्वतन्त्र उम्मेदवारहरू कोइरालाको पक्षमा खुलेर लागिसकेका थिए।
कांग्रेसको आधार, थपिएको समर्थन
मोरङ–६ नेपाली कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिन्छ। त्यसमाथि यसपटक पार्टीभित्रको संगठन सुदृढ देखिएको छ। नेपाली कांग्रेस को स्थानीय संरचना, भातृ संगठन र युवा पंक्ति सक्रिय रूपमा मैदानमा छन्।
समर्थन फिर्ता लिने नेताहरूले “स्थिरता, लोकतान्त्रिक मूल्यमान्यता र अनुभवी नेतृत्व” को आवश्यकता औंल्याउँदै कोइरालालाई साथ दिने निर्णय गरेको बताएका छन्। यो सन्देशले मधेसी, थारु र अन्य समुदायबीच पनि सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।
मत गणितमा स्पष्ट अग्रता
राजनीतिक विश्लेषकहरूका अनुसार, विगतको मत परिणाम, हालको गठबन्धन संरचना र स्वतन्त्र मतदाताको झुकाव हेर्दा कोइरालाको मत आधार उल्लेखनीय रूपमा फराकिलो भएको छ। विपक्षी मत विभाजन हुँदा र साना दलहरूको समर्थन केन्द्रित हुँदा प्रत्यक्षतर्फ उनको अग्रता निर्णायक बन्ने देखिन्छ ।
चुनावी सभाहरूमा कोइरालाले संविधानको रक्षा, आर्थिक सुधार र क्षेत्रीय विकासलाई मुख्य एजेन्डा बनाएका छन्। मतदातामाझ उनको सन्देश स्पष्ट छ— “अनुभवसहितको स्थिर नेतृत्व।”
मोरङ–६ मा देखिएको पछिल्लो एकताले अब प्रतिस्पर्धालाई औपचारिकतामा सीमित गर्ने संकेत दिएको छ। यदि यही लहर मतदानसम्म कायम रह्यो भने, डा. शेखर कोइरालाको जित घोषणा मात्र बाँकी रहने अवस्था देखिन्छ।



कागजपत्र |
