
आचार संहिता उल्लंघन भएको भन्दै कांग्रेसले आयोगमा बुझायो ध्यानाकर्षण पत्र
काठमाडौं- नेपाली कांग्रेस ले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै निर्वाचन आयोग को ध्यानाकर्षण गराएको छ । कांग्रेसले विभिन्न स्थानमा आचारसंहिता उल्लंघन भइरहेको विषयमा आइतबार आयोगको कार्यालय पुगेर औपचारिक ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेस प्रवक्ता तथा केन्द्रीय सदस्य देवराज चालिसे को नेतृत्वमा गएको टोलीले आयोगमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकालाई सहभागी गराइएको, निर्वाचन आयोगको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको तथा सामाजिक सञ्जालमार्फत मिथ्या सूचना फैलाएर जनमत प्रभावित पार्ने प्रयास भइरहेको उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले हालसम्म १ हजार १ सयभन्दा बढी आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भएको जानकारी दिए । उनले ती उजुरीमाथि प्रमाण संकलन भइरहेको र कतिपय स्थानमा रकम बाँडिएको समेत पाइएको भन्दै अध्ययनपछि कानुनअनुसार कारबाही गरिने बताए ।
आयोग आचारसंहिता उल्लंघनप्रति संवेदनशील रहेको उल्लेख गर्दै भण्डारीले कांग्रेसको ध्यानाकर्षणप्रति आभार व्यक्त गरे । साथै, स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
कांग्रेसले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण सुनिश्चित गर्न निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।
यस्तो छ कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रः
फागुन १७, २०८२
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौँ ।
विषय – आचार संहिता उल्लंघन सम्बन्धमा ।
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्छ । कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति प्रतिबद्ध रहेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भइरहेका छन् । यसतर्फ पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन लिखित रूपमा निम्न विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ ।
(१) राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको ।
(२) राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको ।
(३) निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको ।
(४) मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको ।
देवराज चालिसे
प्रवक्ता
एवं
संयोजक— केन्द्रीय प्रचार–प्रसार समिति



कागजपत्र |
