चुनावका लागि कसले पाउँछ सवारी पास ?


काठमाडौं-  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानलाई व्यवस्थित, मर्यादित र भयरहित बनाउन सवारी साधनको आवागमन तथा नियमनसम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार मतदानका दिन अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। विशेष परिस्थिति तथा सेवाका लागि भने सवारी पासको व्यवस्था गरिएको छ। आयोगले आजदेखि नै यस्ता पास वितरण प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

सहायक प्रवक्ता जिसीका अनुसार सवारी साधनलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीमा पर्ने सवारी साधनले अनिवार्य रूपमा पास लिनुपर्नेछ। यसअन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन्। कार्यविधिको दफा ५ अनुसार प्रत्यक्षतर्फका उम्मेदवार तथा प्रतिनिधिहरूले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ।

त्यस्तै, निर्वाचन अनुगमनका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका सवारी साधन, कूटनीतिक नियोगका गाडी र सञ्चारकर्मीहरूका सवारी साधनले पनि अनिवार्य रूपमा पास लिनुपर्नेछ। संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले आयोगले जारी गरेको पासका आधारमा मात्र आवतजावत गर्न पाउने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो।

पास नचाहिने अत्यावश्यक सेवा

मानवीय र प्राविधिक संवेदनशीलतालाई ध्यानमा राख्दै केही अत्यावश्यक सेवाका सवारी साधनलाई भने पासको अनिवार्यताबाट मुक्त गरिएको छ। एम्बुलेन्स, शव वाहन, दमकल तथा अस्पतालका सवारी साधन स्वतःस्फूर्त रूपमा सञ्चालन गर्न पाउनेछन्। यस्ता सवारी साधनलाई निर्बाध सञ्चालनको वातावरण मिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको छ।

त्यसैगरी खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी साधन, विद्युत्, दूरसञ्चार तथा सूचना सञ्चार सेवासँग सम्बन्धित गाडीहरूलाई पनि पास आवश्यक पर्ने छैन। डाटा सेन्टर सञ्चालन तथा अन्य प्राविधिक सेवामा खटिएका सवारी साधनलाई पनि नियमित रूपमा सञ्चालन गर्न दिइने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो। आयोगका अनुसार यी सेवाहरू नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका भएकाले निर्वाचनको समयमा पनि रोक्न नहुने ठहर गरिएको हो।

ज्येष्ठ नागरिक र अशक्तलाई विशेष सहजीकरण

निर्वाचन आयोगले यस पटकको मतदानमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त मतदाताहरूलाई विशेष प्राथमिकतामा राखेको छ। मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने मतदाताहरूका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासनसँग समन्वय गरी सहजीकरणको व्यवस्था मिलाइनेछ।

मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री बनाउने प्रयास भइरहेको भन्दै अशक्त मतदाताहरू सुरक्षाकर्मीको सहयोगमा सवारी प्रयोग गरी मतदान केन्द्र नजिकसम्म पुग्न सक्ने व्यवस्था गरिएको सहायक प्रवक्ता जिसीले बताउनुभयो। यसबाट कोही पनि नागरिक मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने आयोगको विश्वास छ।

सवारी आवागमनसम्बन्धी व्यवस्था निर्वाचन आयोगको कार्यविधिको परिच्छेद ३ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ। दफा ३ सम्म प्रचारप्रसार अवधिका नियमहरू समेटिएका छन् भने दफा ४, ५ र ६ मा मतदानको दिन लागू हुने कडा प्रावधान राखिएका छन्। मतदानका दिन देशभर सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द रहनेछन्।

सहायक प्रवक्ता जिसीका अनुसार यो कार्यविधि विगतका अनुभव र सरोकारवालाहरूसँगको व्यापक छलफलपछि तयार पारिएको हो। कार्यविधिमा परिकल्पना नगरिएका व्यावहारिक समस्या आएमा सुरक्षाकर्मी र स्थानीय प्रशासनको समन्वयमा समाधान गरिने आयोगले जनाएको छ।

आपत्कालीन अवस्थाको व्यवस्था

मतदानका दिन आकस्मिक रूपमा अस्पताल जानुपर्ने वा अन्य गम्भीर आपत्कालीन अवस्था सिर्जना भएमा सुरक्षाकर्मीहरूसँग समन्वय गरी आवश्यक सुविधा लिन सकिने आयोगले स्पष्ट पारेको छ।

फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म देशभर सार्वजनिक सवारी साधन बन्द रहने भएकाले सर्वसाधारणलाई त्यसअनुसार आफ्नो यात्रा योजना बनाउन निर्वाचन आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया