सेती अस्पतालमा तिम्ल्याहा शिशुकाे जन्म


धनगढी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिलाले एकैपटक तीन सन्तान जन्माएकी छन्। बुधबार तिम्ल्याहा शिशु जन्मिएको अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. खगेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ र बालरोग चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले आमाको सफल शल्यक्रिया गरी तीन शिशुको जन्म गराएको हो। जन्मिएका शिशुमध्ये दुई छोरा र एक छोरी रहेका छन्।

डा. भट्टका अनुसार दार्चुला घर भएकी ३१ वर्षीया ती महिलाको यसअघि दुई छोरी छन्। पाँच महिनाको गर्भावस्थादेखि नै उनी सेती प्रादेशिक अस्पतालमा नियमित गर्भजाँच गराउँदै आएकी थिइन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरको नेतृत्वमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले गर्भावस्थाको आठ महिनामा सुरक्षित शल्यक्रिया गरी तीनै शिशुको जन्म गराएको अस्पतालले जनाएको छ।

शल्यक्रियाबाट जन्मिएका तीनै शिशुको तौल दुई किलोग्रामभन्दा केही बढी रहेको छ। तिनमध्ये एक शिशुको तौल अलि कम भएकाले एनआइसियूमा राखिएको छ भने आमा र तीनै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

डा. भट्टका अनुसार महिलामा गर्भ प्राकृतिक रूपमा बसेको भए पनि तीन शिशु भएकाले जोखिमलाई मध्यनजर गर्दै आठ महिनामै शल्यक्रिया गर्नुपरेको हो।

प्रतिक्रिया