कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा सांसद पदबाट निष्कासित


सुर्खेत – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा प्रदेशसभा सदस्य पदबाट मुक्त भएका छन्। राजनीतिक दलबाट निष्कासनसम्बन्धी औपचारिक जानकारी प्रदेशसभामा दर्ता भएसँगै उनको सांसद पद स्वतः रिक्त भएको हो।

नेपाली कम्युनिस्ट पार्टीले तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलसँग एकता गरेपछि जनार्दन शर्मा समूहमा आबद्ध भएका शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको निर्णय प्रदेशसभालाई जानकारी गराएको थियो।

सोही निर्णयका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्माको सांसद पद समाप्त भएको औपचारिक जानकारी दिएको हो। सचिवालयका अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र प्रदेशसभामा विधिवत् रूपमा दर्ता भएको थियो।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार जुन दलबाट निर्वाचित भएको सांसदलाई सोही दलले निष्कासन गरी त्यसको सूचना प्रदेशसभामा औपचारिक रूपमा जानकारी गराएपछि सम्बन्धित सांसदको पद स्वतः रिक्त हुने कानुनी व्यवस्था छ। सोही प्रावधानका आधारमा शर्मा प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन्।

 

प्रतिक्रिया