आवासीय चिकित्सक आन्दोलनमा


काठमाडौं- विभिन्न माग पूरा नभएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताल मा कार्यरत आवासीय (रेजिडेन्ट) चिकित्सक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले एक घण्टा धर्ना दिँदै आन्दोलनको सुरुआत गरेका हुन्।

न्याम्स र रेजिडेन्ट एसोसिएसन अफ न्याम्स बीच पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएपछि रेजिडेन्ट चिकित्सक आन्दोलनमा उत्रिएको एसोसिएसनले जनाएको छ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश खरेल ले माग पूरा नभए आकस्मिक र अन्तरङ्गबाहेकका सबै सेवा बहिष्कार गर्दै आन्दोलन चर्काउने चेतावनी दिए। उनका अनुसार गत असोजमा भएको आन्दोलनका क्रममा न्याम्ससँग निर्वाह भत्ता र नाइट ड्युटी भत्ता समयमै उपलब्ध गराउने, ओपिडी समयले रेजिडेन्ट चिकित्सकको कक्षा तालिका र खाजा समय प्रभावित नहुने व्यवस्था मिलाउने, रेजिडेन्टको स्वास्थ्य बीमा गर्ने, तथा लाइब्रेरी समयानुकूल आधुनिकीकरण र व्यवस्थित गर्ने सहमति भएको थियो।

लामो समय बितिसक्दा पनि न्याम्सका पदाधिकारीले ती सहमति कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ। २६ माघमा डिन कार्यालयमा बैठकका लागि निवेदन दिँदा पनि कुनै कारबाही नभएपछि रेजिडेन्ट चिकित्सकहरू स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएको एसोसिएसनले जनाएको छ।

यस विषयमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत ले रेजिडेन्ट चिकित्सकका मागप्रति आफू गम्भीर रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया