
डडेल्धुरामा विद्रोह गरेर अलग्गिएका कर्ण मल्लसहितका नेता कांग्रेसमा फर्किन तयार
डडेल्धुरा - नेपाली कांग्रेस डडेल्धुरामा सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवादपछि अलग भएकाे नेपाली कांग्रेस (विपी) ले अब कांग्रेससँग एकता प्रक्रिया अघि बढाउन तयार भएको जनाएको छ। पार्टीका सभापति भरत नेपालीले जारी गरेको प्रेस विज्ञप्तिमा यसबारे जानकारी गराइएको छ।
भ्रष्टाचार, संगठनगत अन्योल र जिल्लामा लोकतान्त्रिक व्यवस्थामा पार्टीको महत्वलाई ध्यानमा राख्दै नेपाली कांग्रेस (विपी) ले विगतका निर्वाचनमा पनि जनमत प्राप्त गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ।”
यसअघि हिजाे नेपाली कांग्रेस डडेल्धुराले पार्टी एकताको आह्वान गर्दै सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तत्कालीन सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायतलाई सक्रिय योगदान दिन आग्रह गरेको थियो।
डडेल्धुरा जिल्लाका सभापति भीमबहादुर साउदले जारी गरेको विज्ञप्तिमा सबै नेता, कार्यकर्ता र सदस्यलाई साझा रणनीतिमा गोलबद्ध भएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरिएको थियो।
हाल यी सबै नेता नेपाली कांग्रेस (विपी) मा सक्रिय रहेका छन्। उनीहरु जिल्ला अधिवेशनमा आफूलाई बाइपास गरिएको महसुस भएपछि कार्यकर्तासहित नेपाली कांग्रेस (विपी) मा गरेका थिए।




कागजपत्र |
