वैदेशिक रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घट्दा पनि ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स
काठमाडौं – पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या धेरै घटेको छ । तर वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ ।
उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १. प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।