जसपालाई कांग्रेस नेताको चुनौती : आफ्नै नेतृत्वमा सरकार बनाउने भए हिम्मत गर्नुस्


काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले जनता समाजवादी पार्टी लाई चुनौती दिएका छन् । जसपाले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा ढिलाई भएको बताउदै सांसद थापाले चुनौती दिएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले जसपाको अनिर्णयका कारण वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । उनले भने, ‘तपाईंहरुलाई आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छ भने हिम्मत गर्नुस् ।’ तर कुनै निर्णय नगरेर जसपाले प्रधानमन्त्री ओलीको सेवा गरिरहेको उनको आरोप छ ।

उनले भने ‘जसपाले धेरै घुमाउरो कुरा गर्नु हुँदैन,’ उनले भने, ‘तपाईहरु प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुछ, सरकार बनाउनुछ, गर्नुस् । जानुस् । निर्णय गर्नुस् । तपाईहरुलाई विकल्प खोज्नुछ, आउनुस् ।’ अविश्वासको प्रस्ताव ल्याउनुपर्ने वा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने भन्दै उनले भने, ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौं । पहिले त अविश्वासको प्रस्ताव ल्याउनुपर्‍यो या समर्थन फिर्ता लिनुपर्‍यो । कसैले केही नगर्ने खाली हामीले निर्णय गर्ने ? काम गरेर देखाओस् अनि हामी कसैको साथ दिन्छौं ।’

त्यस्तै जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने बताए ।

 

प्रतिक्रिया