स्वास्थ्य बीमा बोर्डलाई बचाउन ७५ करोड रकमान्तर


काठमाडौं –  स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई बचाउन आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ।

बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको कारण मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उक्त रकम उपलब्ध गराएको हो।

बोर्डका अनुसार पुस मसान्तसम्मको मात्रै सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालहरू समेत आर्थिक संकटमा परेको र बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि सरकार दबाबमा परेको थियो।

यो परिस्थितिमा स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा बजेट व्यवस्थापन गरेको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने, “अर्थ मन्त्रालयले रकम रकमान्तर गरेर पठाइसकेको छ।”

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, “अहिले स्वास्थ्य मन्त्रालयबाट रकमान्तर भएको रकम र बोर्डले संकलन गरेको केही रकम गरी १ अर्ब रुपैयाँ सेवा प्रदायक संस्थालाई वितरण गर्ने योजना छ। थप रकमका लागि पहल गरिरहेका छौं।”

स्वास्थ्य मन्त्रालयले २२ वटा कार्यक्रमबाट रकम कटौती गरी करिब एक महिना अघि अर्थ मन्त्रालयलाई प्रस्ताव पठाएको थियो। अर्थ मन्त्रालयले २३ माघमा रकमान्तर स्वीकृत गरेपछि रकम बीमा बोर्डतर्फ निकासा भएको हो।

यसअघि, दुई साताअघि प्रधानमन्त्री सुशीला कार्कीले बीमा बोर्डका लागि आवश्यक रकम ऋणमार्फत उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएकी थिइन्।

प्रतिक्रिया