काभ्रे–२ मा कांग्रेसको चुनावी कार्यक्रममा देखिए रमेश खरेल


काभ्रेपलाञ्चोक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन्।

खरेल काभ्रेपलाञ्चोक–२ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यको समर्थनमा पाँचखालमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका हुन्। पाँचखाल नगरपालिका–५ स्थित केराघारीमा पुगेका खरेलले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहे पनि ‘रूपान्तरणसहित अघि बढेको कांग्रेसले देशको मुहार फेर्ने’ अपेक्षाका साथ चुनावी कार्यक्रममा सहभागी भएको बताए।

कार्यक्रममा सम्बोधन गर्दै खरेलले आफूलाई ‘न्युट्रल’ नागरिकका रूपमा चित्रण गर्दै भने, “म कुनै पार्टीमा लागेको मान्छे होइन। तर नेपाल आमाले नयाँ अनुहार खोजिरहनुभएको छ। न्युट्रल भोटरको दृष्टिले हेर्दा नेपाली कांग्रेस हिजोको कांग्रेस रहेन। पार्टीभित्र सुदृढीकरण हुँदै युवा नेतृत्वको उदय भएको छ, जुन भोलिको स्पष्ट भिजन, मिसन र त्यो भिजनलाई कार्यान्वयनमा लैजाने आँटको प्रतीक हो।”

उनले थपे, “गगन थापा र विश्वप्रकाश शर्माको आँट र इमानदार प्रयासलाई बल पुगोस भन्ने उद्देश्यले कांग्रेसका पक्षमा मत माग्न यहाँ आएको हुँ।”

खरेल २०७९ सालको आम निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए। त्यसपछि बारा–२ को उपनिर्वाचनका क्रममा उनी रास्वपामा आबद्ध भएका थिए। सो उपनिर्वाचनमा खरेल रास्वपाबाट उम्मेदवार बनेर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भएका थिए।

प्रतिक्रिया