डडेल्धुरामा ‘निर्णायक शक्ति’ बनेको विपी कांग्रेस जनमत संकलनमा


डडेल्धुरा-  प्रतिनिधिसभा निर्वाचनमा निर्णायक शक्ति बनेको नेपाली कांग्रेस (विपी)ले जिल्लाभरका मतदातासँग अन्तरसम्वाद गरेर प्राप्त जनादेशको आधारमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबारदेखि विपी कांग्रेसको कार्यालय किशुनजी भवनमा बसेको जिल्ला कार्यसमितिको बैठक र अगुवा कार्यकर्ता भेलाले ‘जनता जे भन्छ, विपी कांग्रेस त्यही गर्छ’ भन्ने नारा लिएर जिल्लाव्यापी अन्तरसम्वाद अभियान सञ्चालन गर्ने निर्णय गरेको सभापति भरत नेपालीले जानकारी दिए।

बैठकले साताव्यापी अभियान सञ्चालन गरेर राजनीतिक दलमा आबद्ध नभएका तटस्थ मतदाताहरूसँग छलफल, अन्तरक्रिया तथा सुझाव, सल्लाह र अभिमतको आधारमा निर्णय लिने निर्णय गरेको छ। बैठकको आथित्थ्य केन्द्रीय उपसभापति कर्णबहादुर मल्लले गरेका थिए।

विपी कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारी नदिएको अवस्थामा कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा जनमत संकलन गर्ने तयारी गरेको छ। कार्यालय सचिव रामबहादुर विष्टका अनुसार, सोमबार मल्ल डडेल्धुरा पुगेसँगै उम्मेदवार र राजनीतिक दलका नेताहरूले समर्थनको आग्रह गर्न थालेका छन्।

गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा मल्लले सात हजार ५३५ मत प्राप्त गरेका थिए। त्यसपछि तेस्रो शक्ति बनेको विपी कांग्रेसलाई आसन्न निर्वाचनमा निर्णायक शक्ति मान्दै उम्मेदवारहरूले सहयोगको प्रयास गरिरहेका छन्।

जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा होमिएका दल र उम्मेदवारहरूसँग सहकार्यको सम्भाव्यता लिएर अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो। भेलाले जनमत संकलनमार्फत मात्रै निर्णय लिने प्रस्ताव पारित गरेपछि साताव्यापी अन्तरसम्वाद अभियान सुरु गरिएको हो।

बुधबारदेखि सञ्चालन हुने अभियानका क्रममा जिल्लास्थित नागरिक समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी, पेशाकर्मी, व्यवसायी, शिक्षक, प्राध्यापक लगायत मतदातासँग अन्तरक्रिया गरी निष्कर्ष निकाल्ने जानकारी केन्द्रीय उपसभापति मल्लले दिएका छन्।

प्रतिक्रिया