रास्वपा त्यागेकी ममता कांग्रेस प्रवेश गर्दै


जनकपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिँदै नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्।

शर्माले बुधबार जनकपुरमा आयोजना हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ। सोही कार्यक्रममार्फत उनी कांग्रेसमा समाहित हुने जनाइएको छ।

पार्टी परित्यागको निर्णयबारे धारणा सार्वजनिक गर्दै शर्माले रास्वपाले अघि सारेको “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा व्यवहारमा लागू नभएको आरोप लगाएकी छन्। उनले पार्टीको कार्यशैली नारासँग ठीक उल्टो रहेको उल्लेख गर्दै रास्वपाको साधारण सदस्यसमेत नरहने गरी आजै राजीनामा दिएको बताइन्।

उनको भनाइमा रास्वपामा दिनरात खटिएका क्षमतावान ‘घण्टी’ समर्थकहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्था छ।

शर्माले विशेषगरी पार्टीभित्र आर्थिक अनियमितताका आधारमा निर्णय हुने गरेको आरोप लगाउँदै यस्ता गतिविधिको साक्षी बसेर अब मौन रहन नसक्ने स्पष्ट पारेकी छन्। यही कारणले आफूले पार्टी छोड्ने निर्णय लिएको उनको भनाइ छ।

प्रतिक्रिया