
उपत्यकामा वायु गुणस्तर बिग्रियो, बालबालिका र ज्येष्ठ नागरिक जोखिममा
काठमाडौं – काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार वायु गुणस्तर सूचकांक १७८ बाट बढेर आज १९१ पुगेको छ। यस परिस्थितिले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, र श्वास–प्रश्वास तथा मुटुरोगीमा असर गर्न सक्ने चेतावनी दिइएको छ।
विश्वव्यापी सूचीअनुसार काठमाडौँ वायु गुणस्तर सूचकांकमा भारतको दिल्ली र पाकिस्तानको लाहोर पछि तेस्रो स्थानमा पुगेको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार, वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने सम्भावना रहेको छ। वर्षा पराजुलीले भने, उपत्यकामा सवारी साधनको वृद्धि, डिजेल–पेट्रोलको धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो सुक्खा मौसम प्रदूषण बढाउने मुख्य कारण हुन्।
सरकारले वायु गुणस्तर सुधारका लागि विभिन्न उपाय अघि सारेको छ। यसमा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइमा ब्रुमर र भ्याकुम प्रयोग बढाउने, र सार्वजनिक सचेतना कार्यक्रम सञ्चालन गर्ने समावेश छन्। साथै, राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु, जल र ध्वनि प्रदूषण मापन केन्द्र स्थापना गरी गुणस्तर नक्साङ्कन गर्ने रणनीति पनि लागू गरिएको छ।



कागजपत्र |
