कांग्रेस बदलिएको छ, अब दुईपटकभन्दा बढी सत्तामा बस्ने परम्परा अन्त्य हुन्छ: विश्वप्रकाश शर्मा


काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले दुई पटकभन्दा बढी कुनै व्यक्ति प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्री बन्न नपाउने आफ्नो पार्टीको नयाँ नीति सार्वजनिक गरेका छन्।

सोमबार लमजुङमा आयोजित सभामा बोल्दै उपसभापति शर्माले भने, “कुनै पनि व्यक्ति सत्तामा लामो समयसम्म निरन्तर रहिरहन नपाउने परम्परा भत्काएर, हामी यसलाई संविधानमै अंकित गर्नेछौं। अबदेखि कोही पनि प्रधानमन्त्री वा मुख्यमन्त्री दुई पटकभन्दा बढी पदमा रहन पाउने छैनन्।”

शर्माले विश्वास व्यक्त गरे कि कांग्रेसले आफ्नो परिवर्तन देखाएर मतदातालाई प्रभावित गर्नेछ र आगामी फागुन २१ को निर्वाचनमा जित दिलाउनेछ। उनले भने, “देश जान्दछ, कांग्रेस बदलिएको छ। र देश पनि जान्दछ– जो बदलिन सक्छ, उसैले देश बदल्न सक्छ।”

उपसभापति शर्माले देशको शासनमा सुधार आवश्यक रहेको भन्दै, कांग्रेसले यसका लागि के–के कदम चालिरहेको छ भन्ने कुरा केलाएका छन्। जेनजी विद्रोहको भावना अनुरूप सुधार, परिमार्जन र समग्र परिवर्तन कांग्रेसले नै सम्भव बनाउने उनको दाबी छ।

प्रतिक्रिया