निर्वाचनको मुखमै सेतीबाट ४५ कर्मचारी निकालिए


कैलाली- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन मागिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने रोजगारीसम्बन्धी एक घटनाले नयाँ बहस सुरु भएको छ।

सेती प्रादेशिक अस्पतालमा लामो समयदेखि कार्यरत ४५ जना नर्स, कर्मचारी, मजदुर तथा सरसफाइ कर्मी एकैपटक हटाइएको घटनाले स्थानीयस्तरमा ठूलो तरंग पैदा गरेको हो।

अस्पताल प्रशासनले उनीहरूको सेवा सम्झौता नवीकरण नभएको कारण हटाइएको बताएको छ। तर निष्कासित कर्मचारीहरूले भने बिना कारण रोजगारी खोसिएको भन्दै गुनासो गरेका छन्।

पीडित कर्मचारीहरूका अनुसार उनीहरू वर्षौँदेखि अस्पतालमा निरन्तर सेवा दिँदै आएका थिए। अचानक हटाइँदा उनीहरूको जीविकोपार्जनमा गम्भीर असर परेको बताएका छन्। “हामी नियमित रूपमा काम गरिरहेका थियौं, तर कुनै स्पष्ट कारण नदिई बाहिर निकालियो,” एक निष्कासित कर्मचारीले दुख व्यक्त गरे।

यस घटनापछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकारको कार्यशैलीमाथि विपक्षी दल तथा स्थानीय सरोकारवालाहरूले प्रश्न उठाएका छन्। उनीहरूले निर्वाचनको मुखमा यस्तो निर्णय अमानवीय र श्रमिक–विरोधी भएको आरोप लगाएका छन्।

स्थानीय नागरिक तथा अधिकारकर्मीहरूले संविधानले प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको उल्लेख गर्दै राज्यले रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा उल्टै काम गरिरहेका व्यक्तिहरूलाई हटाउनु दुःखद भएको बताएका छन्। सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा अस्पताल प्रशासनको आलोचना भइरहेको छ।

यसैबीच, सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेले भने कर्मचारीहरूलाई अस्पतालले नियुक्त गरेर निष्कासन गरेको नभएको स्पष्ट पारेका छन्। उनका अनुसार तल्लो तहका कर्मचारीहरू हरेक वर्ष टेन्डर प्रक्रियामार्फत आपूर्ति गरिने सरकारको नीति र कानुनअनुसार नयाँ टेन्डर पाउने संस्थाले नै सेक्युरिटी गार्ड, नर्स, सरसफाइ कर्मी लगायत कर्मचारी पठाउने व्यवस्था रहेको छ।

पीडित कर्मचारीहरूले पुनःबहाली वा क्षतिपूर्ति माग गरेका छन् भने सरोकारवालाहरूले तत्काल संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

 

प्रतिक्रिया