
लाइक–भ्यूजको पछि नदौडौँ, कांग्रेसको तागत जनतामै छ : गगन थापा
कास्की- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा, रीस र अविश्वासको भुमरीमा फसेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन्।
कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउने होइन, धैर्य, क्षमता र चेतनाको राजनीतिमार्फत देशलाई निकास दिन सक्ने शक्ति कांग्रेस भएको दाबी गरे।
उनले समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्र—संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा जिम्मेवार राजनीतिक शक्तिले भूमिका खेल्नुपर्ने बताए।
‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, निभाउन धैर्यता र क्षमता चाहिन्छ,’ थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति कांग्रेस हो। हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ।’
सभापति थापाले मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध लड्ने स्पष्ट सङ्कल्पसहित कांग्रेस अघि बढेको बताए। ‘नागरिकलाई सोध्नुभयो भने सबैभन्दा ठूलो शत्रु को हो भन्नेमा जवाफ आउँछ—भ्रष्टाचार,’ उनले भने, ‘हिजो हिंसाको आहालबाट देशलाई बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि कांग्रेसले नै निकाल्छ।’
उनले घरदैलो अभियानमा जाँदा कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।
थापाले सामाजिक सञ्जालमा देखिने हल्ला, कोलाहल र लाइक–भ्यूजको प्रतिस्पर्धाबाट नआत्तिन आग्रह गरेका छन्। ‘सामाजिक सञ्जाल महत्वपूर्ण छ, तर त्योभन्दा ठूलो तागत वडा, टोल, पधेँरोदेखि सहर–बस्ती र नागरिकको मनमनसम्म फैलिएको कांग्रेस संगठन हो,’ थापाले भने।



कागजपत्र |
