भारतमा कोरोना संक्रमण बढेको बढ्यै: एक दिनमै १ लाख ७० हजार बढी संक्रमित, ९०४ को मृत्यु


काठमाडौँ – नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण हुनेको सङ्ख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा पहिलो पटक एक दिनमै एक लाख ७० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिन यता नयाँ कोरोना भाइरस फैलिने क्रम तीव्र रूपमा बढ्दो रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । नयाँ कोरोना भाइरस फैलने क्रम तीव्र रहेकोले यसले नेपालमा पनि प्रभाव पार्ने देखिन्छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार पनि भारतमा एक लाख ६९ हजार ८ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैनिक एक लाख भन्दा बढी जनामा कोरोना संक्रमण फैलिनु भनेको स्वास्थ्य सङ्कट नै हो ।

आइतबार भारतको महाराष्ट्र राज्यमा ६३ हजार दुई सय ७६ जनामा सङ्क्रमण देखिएको थियो भने नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार दुई सय ७६ जनामा सङ्क्रमण देखिएको थियो ।

आइतबार एकै दिन कोरोना संक्रमणबाट ९०४ जनाको मृत्यु भएको थियो ।

हालसम्म भारतमा कूल १ करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने बढ्ने क्रम पनि जारी नै छ । यसै गरी भारतभरिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या १ लाख ७० हजार रहेको छ ।

करिब १० करोड मानिसलाई कोरोना खोप पनि लगाइसकिएको छ ।

प्रतिक्रिया