प्रधानमन्त्री कार्की र ओलीबीच भेटवार्ता


काठमाडौं-  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री, राजनीतिक दल र निर्वाचन आयोगसँगको छलफलमा एमालेले मौसम प्रतिकूल हुने भन्दै फागुनमा निर्वाचन गर्न कठिन हुने तर्क गर्दै निर्वाचन सार्नुपर्ने माग गर्दै आएको थियो। साथै संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अदालतको निर्णय आएपछि मात्र निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने एजेन्डा एमालेले उठाउँदै आएको थियो। तर सरकार र निर्वाचन आयोगले भने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट अडान लिँदै आएका छन्।

सरकारप्रति एमालेको असन्तुष्टि चर्किरहेको अवस्थामा भएको प्रधानमन्त्री–ओली भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। मंगलबार प्रधानमन्त्री कार्कीले मौसमका कारण निर्वाचन दुई चरणमा हुन सक्ने सम्भावनाबारे अभिव्यक्ति दिएलगत्तै एमालेले त्यसको कडा प्रतिवाद गरेको थियो। बुधबार एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचन जसरी भए पनि एकै चरणमा हुनुपर्ने बताएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आवश्यक परे मिति सारेर भए पनि निर्वाचन एकै चरणमा गरिनुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच अन्य के–के विषयमा छलफल भयो भन्नेबारे औपचारिक जानकारी भने सार्वजनिक हुन बाँकी रहेको छ।

 

प्रतिक्रिया