
सिरहा अस्पतालमा ३८ लाख हिनामिना, दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाको टिकट काउन्टरबाट संकलित राजस्व हिनामिना गरेको अभियोगमा तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवलाई मुख्य प्रतिवादी बनाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट उठेको सेवा शुल्क बैंकमा दाखिला नगरी हिनामिना गरिएको आयोगको ठहर छ।
अनुसन्धानका क्रममा सफ्टवेयर प्रणालीमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर विवरण तुलना गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा बराबरको फरक भेटिएको आयोगले जनाएको छ।
आयोगका अनुसार तत्कालीन कार्यालय प्रमुखद्वयले आफ्नो जिम्मेवारीअनुसार निगरानी र नियन्त्रण नगरेको तथा अनियमिततामा संलग्नता देखिएको छ। सरकारी रकम बदनियतपूर्वक अपचलन गरिएको निष्कर्ष निकालिएको छ।
आरोपपत्रमा तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोककुमार यादव तथा बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्यामकुमार मण्डल, रोशनकुमार यादव, सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल र पूजा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले आपसी मिलेमतोमा वास्तविक आम्दानी लुकाई कम रकम बैंकमा दाखिला गरेको अभियोग लगाइएको छ।
त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेकाले उनले संलग्न रहेको भनिएको हिनामिना रकम असुल उपर गर्न उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ। सबै प्रतिवादीमाथि बिगो बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय माग गरिएको छ।



कागजपत्र |
