
दैलेखमा १७ वर्षीय किशोरको योजनामा युवकको हत्या
सुर्खेत- दैलेखको भगवतीमाई गाउँपालिका–४ बेस्तडास्थित कट्टी खोलामा बीभत्स अवस्थामा मृत फेला परेका २२ वर्षीय गोविन्द विकको योजनाबद्ध हत्या भएको पुष्टि भएको छ। प्रहरीका अनुसार १७ वर्षीय एक किशोरको मुख्य योजनामा ७ जना मिलेर गोविन्दको हत्या गरिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा जन्मकैदको सजाय मागदाबी गरिएको छ। गत भदौ २३ गते बिहान खोलाको बीचमा नाङ्गो अवस्थामा शव फेला परेको थियो। मृतकको टाउको, हात र खुट्टामा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुख्य योजनाकार किशोरकी दिदीसँग मृतकको प्रेम सम्बन्ध थाहा पाएपछि हत्या योजना बनेको थियो। भदौ २२ गते राति ढुङ्गा, फलामको रड, दाउरा र मुक्काले कुटपिट गरी हत्या गरिएको र पछि शव नाङ्गो बनाएर कम्बलमा बेरी बोरामा हालेर खोलामा बगाइएको खुलेको छ।
घटनापछि प्रमाण नष्ट गर्न कोठा लिपपोत गरिएको र आरोपीहरू भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। सोमबार जिल्ला अदालत दैलेखमा जन्मकैदको मागदाबीसहित मुद्दा दायर गरिएको छ।



कागजपत्र |
