जबर्जस्ती चुनावको नाटक भइरहेको छ: केपी ओली


काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते तोकिएको निर्वाचन समयमै हुने–नहुने विषयमा गम्भीर शंका व्यक्त गरेका छन्।

शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भौगोलिक कठिनाइ र सरकारको नियतका कारण निर्धारित मितिमा चुनाव हुने टुंगो नलागेको बताएका हुन्।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा अत्यधिक चिसोका कारण जनसहभागिता नहुने अवस्थालाई उल्लेख गर्दै उनले त्यस्ता ठाउँमा चुनाव गर्नु औचित्यहीन हुने तर्क गरे।
उनले भने, “सरकार फागुन २१ गते चुनाव गर्छु भनिरहेको छ, तर वास्तवमै त्यो दिन चुनाव हुन्छ कि हुँदैन निश्चित छैन। हिमाली भेगमा मान्छे नै छैनन्, भोट हाल्न कोही हिमाल चढेर जाने अवस्था छैन।”

मानिस नभएको ठाउँमा मतपेटिका राखेर मात्रै निर्वाचन नहुने भन्दै ओलीले उच्च पहाडी क्षेत्रमा मतदान नै नहुने अवस्था रहेको जिकिर गरे।

“चार हजार मतदाता हुनुपर्ने ठाउँमा चार जनाले मात्र भोट हालेर बाकस पठाउनु चुनाव होइन,” उनले प्रश्न गरे।

अध्यक्ष ओलीले वर्तमान सरकारसँग शासन गर्ने वैधानिक अधिकार र जनमत दुवै नरहेको दाबी गर्दै जबर्जस्ती चुनावको नाटक मञ्चन गर्न खोजिएको आरोप लगाए। प्रशासनिक हेरफेर गरेर चुनाव जित्ने प्रयास भइरहेको उनको भनाइ थियो।

यदि सरकारले कसैलाई जिताउने वा हराउने उद्देश्यले निर्वाचन गराए त्यसको परिणाम अस्वीकार्य हुने चेतावनी दिँदै ओलीले भने, “सरकार पक्षपाती भयो भने त्यो देशका लागि सबैभन्दा ठूलो अनिष्ट हुन्छ।”

साथै, सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना भएपछी संविधान संशोधनमार्फत सर्वपक्षीय सरकार गठन गरी मात्र स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्भव हुने विकल्प पनि ओलीले अघि सारे।

प्रतिक्रिया