
काँग्रेसभित्र गुट र भागबण्डाको राजनीति समाप्त भयो : गगन थापा
काठमाडौं- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य भएको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौँ–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसभित्र लामो समयदेखि चल्दै आएको ६०–४० को भागबण्डा र गुटगत अभ्यास अब इतिहास बनेको बताए
‘अब काँग्रेसभित्र न गुट छ, न भागबण्डा,’ थापाले भने, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ। सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन।’
काँग्रेस केवल चुनाव जित्ने पार्टी मात्र नभई नयाँ प्रतिबद्धतासहित देशको नेतृत्व गर्न सक्षम शक्ति भएको उनको दाबी थियो। बदलिएको काँग्रेसको सन्देश घर–घरमा पुर्याउन नेता–कार्यकर्तालाई आग्रह गर्दै थापाले काँग्रेस अब पुरानो शैलीको होइन, जिम्मेवार, समावेशी र सबैलाई जोड्ने राजनीतिक धार बोकेको नयाँ युगको पार्टी बनेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै उनले स्थानीय नेताहरूले रोक्दारोक्दै पनि आफूले जोखिम उठाएको बताउँदै देशको नेतृत्व गर्न मधेस र मधेसीका मुद्दालाई गहिरो रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए। त्यसै उद्देश्यका साथ आफू मधेस गएको उनको भनाइ थियो।
‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ,’ भन्दै भावुक बनेका थापाले काठमाडौँका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनका कारण नटुट्ने विश्वास दिलाए।
आफू तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्ने भन्दै थापाले उत्तेजनाको होइन, चेतनाको राजनीतिबाट देश अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।



कागजपत्र |
