बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला बेहोस, सेनाको हेलिकप्टरबाट उद्धार


अछाम-  सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनलाई लिएर नेपाली सेनाको जहाज केही बेरअघि काठमाडौंका लागि उडेको हो।

बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा आज बिहान करिब ९:३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो। सो स्थान अछामका रास्वपा उम्मेदवार भुपदेव शाहको घर नजिकै रहेको जनाइएको छ।

गाडीबाट ओर्लिने क्रममा सिटौला अचानक बेहोश भएर ढलेपछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकहरूले उनको अवस्था गम्भीर (क्रिटिकल) रहेको जनाउँदै थप उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका थिए।

त्यसपछि सिटौलालाई अछामबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको थियो। सुर्खेतबाट भने सेनाको जहाजमार्फत काठमाडौं ल्याइएको हो।

सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत हुन्।

प्रतिक्रिया