
प्रदीप यादवसहित ८ जना नेता जसपाबाट निष्कासित
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति र निर्णयविपरीत गतिविधि गरेको भन्दै पूर्वमन्त्रीसमेत रहेका प्रदीप यादवसहित आठ जनालाई पार्टीबाट निष्कासन गरेको छ।
जसपा नेपालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो। निष्कासित हुनेमा प्रदीप यादवसँगै चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) रहेका छन्।
प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रदीप यादवले जसपा नेपाल त्याग्दै नेकपा एमाले प्रवेश गरेका थिए। एमाले प्रवेशसँगै उनले पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन् र हाल सक्रिय रूपमा चुनावी प्रचारप्रसारमा जुटिरहेका छन्।
यादवले पार्टी छाडेको एक साताभन्दा बढी समयपछि जसपा नेपालले उनीसहित अन्य नेताहरूमाथि कारबाही गर्दै औपचारिक विज्ञप्ति जारी गरेको हो। पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिनु संगठन सुदृढीकरणका लागि आवश्यक रहेको जसपा नेपालले जनाएको छ।




कागजपत्र |
