
बाक्लो हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र
रुकुम पश्चिम- मौसममा आएको अचानक परिवर्तनका कारण गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्र प्रभावित भएका छन्। बाक्लो हिमपात भएपछि मध्यपहाडी लोकमार्गको आवतजावतसमेत ठप्प बनेको छ।
रुकुम पूर्व र बागलुङको सिमानामा पर्ने पाथीहाल्ने आसपासमा रातिदेखि निरन्तर हिमपात भएपछि सवारी साधन सञ्चालन हुन नसकेको हो। सडकमा हिउँ जमेकाले यात्रु बोकेका सवारी साधनहरू बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवका अनुसार रातिदेखि नै लेकाली भेगमा मौसम अत्यन्त प्रतिकूल बनेको छ। हिमपात जारी रहँदा सर्वसाधारणको दैनिकीसमेत प्रभावित हुँदै गएको उनले बताए।
उनका अनुसार पाथीहाल्ने आसपासमा करिब एक दर्जन सवारी साधन रोकिएका छन्। प्रहरीले यात्रुहरूलाई सुरक्षित स्थानतर्फ जान सहजीकरण गरिरहेको छ। साथै भूमे गाउँपालिकाको जेसीबी मेसिन तयारी अवस्थामा राखिएको र हिउँ केही पग्लिएपछि सडक खुलाउने प्रयास गरिने उनले जानकारी दिए।
हिमपातसँगै हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन्। यद्यपि, हिउँदे बालीका लागि हिमपात लाभदायक हुने भएकाले यसलाई सकारात्मक रूपमा लिइएको उनीहरूको भनाइ छ। अहिले भने मौसममा क्रमशः सुधार देखिन थालेकाले जनजीवन चाँडै सहज हुने अपेक्षा गरिएको छ।



कागजपत्र |
