
प्रादेशिक अस्पतालमा पोस्टमार्टमपछि शव हेरफेर: आक्रोशित परिवार सडकमा
लहान – लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शवगृहमा राखिएको एक किशोरीको शव अर्कै परिवारलाई जिम्मा दिएपछि गम्भीर लापरबाही सार्वजनिक भएको छ । घटनापछि मृतक निशाको परिवारले शव माग्दै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा गत शनिबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि उनको शव लहानस्थित उक्त प्रादेशिक अस्पताल पठाएको थियो ।
सोही दिन सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया किशोरी राधिका साहको शव पनि पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको थियो । पोस्टमार्टमपछि अस्पतालबाट एउटा शव बाहिर निकालेर राधिकाको शव भन्दै उनका आफन्तलाई जिम्मा लगाइयो । आफन्तले शव घर नलगी लहान नजिकैको बलान खोलाको किनारमा दाहसंस्कार गरेका थिए ।
उता, निशाको परिवार वैदेशिक रोजगारीका सिलसिलामा भारतको मुम्बईमा थियो । छोरीको मृत्युको खबर पाएपछि उनीहरू सोमबार बिहान मुम्बईबाट घर फर्किएर सोही दिन दिउँसो १ बजे पोस्टमार्टमका लागि लहान अस्पताल पुगे ।
अस्पतालले पोस्टमार्टमको प्रक्रिया सुरु गरे पनि आमा–बुबाले शव हेर्दा आफ्नो छोरीको नभएको भन्दै आपत्ति जनाए । त्यसपछि मात्र उक्त शव राधिका साहको भएको पुष्टि भयो । यससँगै अस्पतालको गम्भीर लापरबाही छताछुल्ल भएको हो ।
घटनापछि आक्रोशित बनेका निशाका परिवार तथा आफन्तजनले ‘निशाको शव ल्याइदेऊ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झा र सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहतामाथि कारबाही गर’ भन्दै दिउँसो १ बजेदेखि पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले सुरुमा निशाकै परिवारले शव बुझिसकेको र पछि मात्र आफ्नो नभएको दाबी गरेपछि शव साटिएको थाहा भएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजे । तर, निशाका आमा–बुबाले आफूहरू सोमबार मात्र भारतबाट आएको र सीधै अस्पताल पुगेको स्पष्ट पारेपछि उनले आफ्नो भनाइ परिवर्तन गरे ।
डा. झाले पोस्टमार्टम गरिदिनु अस्पतालको दायित्व भए पनि शव बुझाउने प्रक्रिया प्रहरीले गर्ने बताए । उनले शवगृहमा शव राख्दा ‘कोडिङ’ गर्नुपर्ने प्रावधान भए पनि सो अस्पतालमा यस्तो अभ्यास नभएको स्वीकार गरे । ‘शव कोडिङ इथिकल अभ्यास हो, तर यस अस्पतालमा यसको प्रचलन छैन,’ उनले भने ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहताले शव बुझ्ने क्रममा आफन्त पक्षबाट पनि कमजोरी भएको दाबी गरे । अस्पतालमा शव कोडिङको व्यवस्था नभएकै कारण यस्तो घटना भएको स्वीकार गर्दै उनले यसमा अस्पतालको पनि लापरबाही रहेको बताए ।
यता, इलाका प्रहरी कार्यालय लहानले राधिका साहका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विस्तृत छानविनपछि थप कारबाही अघि बढाइने सिरहा प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।



कागजपत्र |
