
एउटै वडाका चार जना उम्मेदवार !
अर्घाखाँची — प्रतिनिधि सभा सदस्यका लागि एउटै वडाका चार उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिका–५ बाट चार जनाले उम्मेदवारी दिएपछि चुनावी प्रतिस्पर्धा हुने भएको हो । सो ठाउँबाट नेकपा (एमाले) बाट पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवार रवि शाह र हिमाल भुसाल चुनावी मैदानमा रहेका छन् ।
पीताम्बर र चौहान लामो समय एमालेमा एकै समयमा राजनीति गरेका नेता हुनुहुन्छ । नेकपा विभाजनको केही समयपछि माधव नेपालले नयाँ पार्टी बनाए ।
चौहानले जिल्लामा पार्टीभित्र विद्रोह गरेर समानान्तर पार्टीको नेतृत्व गरे । पार्टी फुटेपछि बनेको नेकपा (एकीकृत समाजवादी) को जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बने ।
फेरि पुष्पकमल दाहाल नेतृत्वको माओवादी र नेपाल नेतृत्वको नेकपा समाजवादीबिच एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको चौहान अहिले केन्द्रीय सदस्य छन् । भुसाल अहिले एमाले जिल्ला अध्यक्ष छन् ।
दुवै जना २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छन् र दुवै नयाँ अनुहार छन् ।
भुसाल २०५४ सालमा २५ वर्षको उमेरमा बागी गाविस अध्यक्ष निर्वाचित भएका थिए । २८ वर्षपछि पहिलो पटक संसदीय चुनावमा भिड्न लागेका हुन् । विद्यार्थी राजनीतिदेखि गाउँ, इलाका, क्षेत्र, जिल्ला सदस्य हुँदै भुसाल एमाले जिल्ला अध्यक्षमा अहिले दोस्रो कार्यकाल निर्वाह गरिरहेका छन् ।
एमाले २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभातर्फ र प्रदेश सभाका दुई वटै क्षेत्रमा विजयी हुन सफल भएको थियो । बागीगाउँकै अर्का ४९ वर्षीय रवि शाह स्वतन्त्र उम्मेदवार छन् । जिल्लाबाहिर व्यवसाय गर्दै आएका उनी जिल्ला फर्केर अहिले सङ्घीय सांसदका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
अर्का प्रतिस्पर्धी हिमाल भुसाल जिल्लामा व्यवसाय गरिरहेका व्यक्ति छन् ।



कागजपत्र |
