म मधेस जाँदैछु, किनभने म देश जोड्न चाहन्छु: गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार एक भिडियो सन्देशमार्फत उनले भने कि मधेसका कथा, पीडा र समस्यालाई बुझेर काठमाडौंमा सुनाउन र काठमाडौँका कथाहरू मधेसमा पुर्‍याउन आफू क्षेत्र परिवर्तन गर्न लागेका हुन्।

भिडियो सन्देशमा थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने तर अधिकारविहीन अवस्थामा सबैको बिचमा एकता सम्भव नहुने धारणा राख्ने बताए। उनी सर्लाही गए पनि काठमाडौं–४ लाई मन–मुटुमा लिएर रहने र यहाँका जात्रा, पर्व र विकास निर्माणमा जोडिने प्रतिबद्धता जनाए।

थापाले आफ्नो राजनीतिक यात्राको सुरुवाती दिनदेखि काठमाडौं–४ का मतदातासँगको दुई दशक लामो सम्बन्ध स्मरण गर्दै नाकाबन्दी, भूकम्प, कोरोना महामारी लगायत कठिन परिस्थितिमा मतदातासँग मिलेर काम गरेको अनुभव सम्झिए। उनले पार्टी सभापति भइसकेपछि पनि सुझबुझपूर्वक जोखिम लिएर देश जोड्ने उद्देश्यले सर्लाही रोजेको स्पष्ट पारे।

सर्लाही–४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका युवा नेता सचिन तिमल्सिनासँग अनुभव र नयाँ जोश मिलाएर क्षेत्रको विकासमा काम गर्ने बताए।

थापाले सबैको सम्मान राख्दै मात्र देशको सम्मान कायम रहन्छ भन्नेमा विश्वास राखेका छन् र मधेसको माटोमा लडिबुडी गर्न आफू तयार रहेको बताएका छन्।

प्रतिक्रिया