राष्ट्रिय सभा निर्वाचनपछि देउवा–खड्का पक्षको राष्ट्रिय भेला


काठमाडौं-  नेपाली कांग्रेसको देउवा–खड्का पक्षले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि, उनको नेतृत्वमा पार्टीको निर्वाचन प्रक्रिया अघि बढेसँगै नेतृत्वबाट बाहिरिएको तत्कालीन संस्थापन पक्षले भेला बोलाउन लागेको हो।

भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। भेलामार्फत पार्टीको भावी राजनीतिक दिशा र रणनीतिबारे महत्वपूर्ण निर्णय लिने तयारी गरिएको जनाइएको छ।

देउवा–खड्का पक्षले नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको संरक्षण गर्दै पार्टीलाई संस्थागत रूपमा अघि बढाउन तथा नेतृत्व निरंकुश बन्न नदिन भेला आवश्यक परेको दाबी गरेको छ। साथै, सभापति गगन थापाले निर्णय प्रक्रियामा एकलौटी शैली अपनाउन खोजेको आरोपसमेत लगाइएको छ।

प्रतिक्रिया