विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ : शेखर कोइराला


काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले सचेत रूपमा मध्यमार्गी बाटो रोजेको दाबी गरेका छन् । दोस्रो विशेष महाधिवेशनका बेला आफू सक्रिय रूपमा सहभागी नभएकै कारण कांग्रेस विभाजनबाट जोगिएको उनको भनाइ छ ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचामा कांग्रेस समर्थकहरूसँगको भेटघाटमा कोइरालाले विशेष महाधिवेशन र नियमित महाधिवेशन भनेर पार्टी दुई धारमा बाँडिएको संवेदनशील अवस्थामा आफूले बीचको बाटो रोजेको स्पष्ट पारे ।

उनले भने, ‘त्यसबेला एउटा समूह विशेष महाधिवेशन भन्दै अघि बढेको थियो, अर्को नियमित महाधिवेशनको पक्षमा थियो । म कुनै एक धारमा खुलेर गएको भए पार्टी नफुट्ने ग्यारेन्टी थिएन । त्यसैले मैले मध्यमार्ग रोजेँ ।’

कोइरालाका अनुसार यदि आफू विशेष महाधिवेशनको हलमा उपस्थित भएको भए कांग्रेस दुई टुक्रा हुने निश्चित थियो ।
‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो,’ उनले स्पष्ट शब्दमा भने ।

उनले विशेष महाधिवेशनमा गए सभापति बन्ने अवसर समेत रहन सक्ने अवस्था रहेको स्वीकार गरे । तर व्यक्तिगत पद र अवसरभन्दा पार्टीको अस्तित्व ठूलो भएकाले आफूले त्यो बाटो नअपनाएको उनको जिकिर छ । ‘त्यहाँ गएको भए म सभापति बन्थेँ कि बन्दिनथेँ, त्यो अलग कुरा हो । तर पार्टी दुई टुक्रा हुन्थ्यो भन्ने कुरा मलाई स्पष्ट थियो,’ कोइरालाले भने ।

 

प्रतिक्रिया