
शक्तिशाली स्वतन्त्र उम्मेदवार भूपेन्द्रजंग शाही- कालीकोटमा अग्रपंक्तिमा
कालीकोट – प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता भूपेन्द्रजंग शाहीको चुनावी पकड दिनप्रतिदिन बलियो बन्दै गएको छ। लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय शाहीप्रति जनतामा रहेको विश्वास र सहानुभूतिले उनको जितको आधार मजबुत बनाउँदै लगेको विश्लेषकहरू बताउँछन्।
नेविसंघको राजनीतिबाट उदाएका शाहीले दुई दशकभन्दा बढी समयदेखि कालीकोटका सामाजिक, राजनीतिक र विकासका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्। २०७० र २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका शाही जिल्लाभर लोकप्रिय नेताका रूपमा परिचित छन्। विशेषतः युवापंक्ति, दलित समुदाय र दुर्गम बस्तीका मतदाताबीच उनको बलियो प्रभाव देखिन्छ।
पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा मैदानमा उत्रिएका शाहीलाई यसपटक “अन्यायमा परेका नेता” को छविले थप जनसमर्थन दिलाइरहेको स्थानीय मतदाताहरू बताउँछन्। कांग्रेसका असन्तुष्ट कार्यकर्ता, मध्यमार्गी मतदाता र पार्टीभन्दा माथि उठेर व्यक्ति हेर्ने मतदाताको झुकाव शाहीतर्फ देखिन थालेको छ।
कालीकोटमा नेकपा र कांग्रेस दुवैभित्र बागी उम्मेदवारी र आन्तरिक असन्तुष्टि देखिएको छ। नेकपाभित्र महेन्द्रबहादुर शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी, माओवादीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र एमालेबाट नगीन्द्र शाहीको प्रतिस्पर्धाले वाम मत विभाजित हुने संकेत देखिन्छ। यसले स्वतन्त्र उम्मेदवार शाहीलाई फाइदा पुग्ने राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ।
स्थानीय विकास, रोजगारी, सडक र शिक्षा–स्वास्थ्यको पहुँचजस्ता मुद्दालाई केन्द्रमा राख्दै घरदैलो अभियानमा खटिएका शाहीले “कालीकोटको आवाज काठमाडौंसम्म पुर्याउने” प्रतिबद्धता जनाउँदै आएका छन्। उनको सरल शैली, स्थानीय भाषा र समस्यासँगको आत्मीयता मतदातामाझ प्रभावकारी देखिएको छ।
समग्रमा हेर्दा पार्टीगत ध्रुवीकरणभन्दा माथि उठेर बनेको समर्थन, प्रतिद्वन्द्वी पक्षको मत विभाजन र लामो समयदेखिको स्थानीय पकडका कारण कालीकोटमा भूपेन्द्रजंग शाहीको जितको सम्भावना बलियो बन्दै गएको छ। चुनाव नजिकिँदै जाँदा शाहीको पक्षमा देखिएको माहोलले नतिजा लगभग निश्चिततर्फ उन्मुख भएको संकेत गरेको छ।



कागजपत्र |
