इतिहासकै महंगो कुखुराको मासु, बिचौलियालाई कति फाईदा ?


काठमाडौं – मागको तुलनामा उत्पादनमा कमी आएपछि काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । ब्रोइलर मासुको बिक्री थालेको २२ वर्षको अनुभवमा अहिलेको मूल्यले नयाँ रेकर्ड राखेको संघका निर्वतमान कोषाध्यक्ष बल्लु बलराम खड्गीले बताए ।

त्यस्तै तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको अध्यक्ष बिसीले जानकारी दिए । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताए । यस अघि कुखुराको मासुको मूल्य संघले चार सय रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

गत लकडाउनको समयमा ह्याचरी संघले ठूलो परिमाणमा अण्डा, चल्ला र कुखुरा नष्ट गर्दा पनि मूल्य यसरी महंगो भएको थिएन । त्यति बेला प्यारेन्ट कुखुराको आयात भइसकेकोले उत्पादनसँगै बजारमा आपूर्ति सहज थियो । कोभिड पछि प्यारेन्ट कुखुराको आयात रोकिएयता उत्पादन बढ्न सकेको छैन । एक बर्षदेखि प्यारेन्ट आयात नहुँदा र हाल उत्पादन भएका कुखुराहरु रोगका कारण मर्न थालेपछि मूल्य लगातार बढ्न थालेको अध्यक्ष बिसीले बताए ।

अहिले आयात भएको प्यारेन्टबाट अण्डा र नयाँ चल्ला उत्पादन हुन करिब ८ महिनासम्म लाग्ने भएकोले मासुको मूल्य बढ्दै जाने उनको भनाइ छ ।

बिचौलियलाई कति नाफा

काठमाडौं उपत्यकामा खुद्रामा ४५० रुपैयाँसम्ममा कुखुराको मासुको बिक्री हुँदा किसानले पाउने मूल्य भने किलोमा १६० रुपैयाँसम्म कम रहेको भन्दै नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले भने आपत्ति जनाएको छ । जिउँदो र तयारी मासुमा प्रतिकलो एक सय रुपैयाँको अन्तर ठिकै भएपनि १६० रुपैयाँसम्म हुनु भनेको उपभोक्ता र किसान माथी ठगी भएको संघले जनाएको छ ।

प्रतिक्रिया