
चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल
काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनतर्फ उन्मुख हुने संकेत देखिएपछि नेता डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित महाधिवेशनस्थल छाडेका छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई तीव्रता दिएसँगै उनीहरू बाहिरिएका हुन् ।
महाधिवेशनस्थल छाडेका डा. भण्डारी संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगिसकेका छन् । उता निवर्तमान सांसद सुनील शर्मा पनि भृकुटीमण्डपबाट बाहिरिएका छन् । उनले आफूहरू पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
डा. भण्डारीले पार्टी विभाजन आफूलाई स्वीकार्य नरहेको बताउँदै विशेष महाधिवेशनबाट आफू पछि नहटेको दाबी गरेका छन् । भण्डारीले भने, ‘पार्टी फुटतर्फ जानु मेरो लागि अस्वीकार्य छ । सहमतिको बिन्दु खोज्न छलफल भइरहेका छन् । विशेष महाधिवेशनबाट पछि हटेको भन्ने कुरा म स्वीकार गर्दिनँ, मिलाउने प्रयत्नमै छु।’
वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरी उम्मेदवारका लागि मनोनयन पत्र वितरण सुरु गरेसँगै दुवै नेता महाधिवेशनस्थलबाट बाहिरिएका हुन् ।



कागजपत्र |
