एमालेमा नेपाल समूहको पहिलो निशानामा कर्ण थापा, साधारण सदस्यबाट निलम्बित
काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कारबाही सिफारिस गरेको छ। थापालाई सुदूरपश्चिम कमिटीको बैठकले एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो।
भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई पार्टी कार्यालय तोडफोड र गुण्डागर्दी कार्यमा संलग्न रही पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले कारबाही सिफारिस गरिएको बताइएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै बैठकले थापालाई नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीको सबै जिम्मेवारीबाट हटाइएको उल्लेख छ।
साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको विज्ञप्तिमा भनिएको छ। नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन कार्यमा थापा सक्रिय रहेको नेपाल समूहको आरोप छ।