बरिष्ठ पत्रकार होमनाथ दाहालको निधन


काठमाडाैं – वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ ।

उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९९८ कार्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए । पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै उनले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिए

गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक समेतको जिम्मेवारी सम्हालेका उनले नेपाल पत्रकार महासंघको सभापति समेत भएर काम गरेका थिए ।

स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालका सुपुत्र दाहालले एम.ए. (नेपाली) सम्मको उच्च शिक्षा हासिल गरेका थिए । साहित्यिक चेतनाले ओतप्रोत उनको पत्रकारिता यात्रा विचार, सिद्धान्त र व्यवहारको सशक्त संयोजनका रूपमा स्थापित रह्यो । उनकी श्रीमती तथा २ छोराहरू छन् ।

 

प्रतिक्रिया