दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित


काठमाडौं- उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। सुनुवाइ प्रसाईंका कानुन व्यवसायीले निवेदन पेश गरेपछि स्थगित गरिएको हो।

मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा सुन्ने तोकिएको थियो। यसमा दुर्गा प्रसाईं, उमा प्रसाईं, नीराजन प्रसाईं र आर्जु प्रसाईंलाई विपक्षी बनाइएको छ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिलले उक्त प्रतिवेदनको आधारमा दुर्गा प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गर्दै अभियोजन दायर गरेका थिए। यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए। साथै पीडित राहत कोषमा क्षतिपूर्ति भर्न समेत निर्देशन दिइएको थियो।

अभियोग अनुसार प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा गलत कारोबार (राउन्ड ट्रिपिङ), आपसी पक्षसँग मिलेर स्वार्थ बाझिने कारोबार, र अन्य शङ्कास्पद आर्थिक कारोबार गरेको आरोप छ।

प्रतिक्रिया