ओली–प्रचण्डबीच च्यासलमा भेट, के भयाे कुराकानी ?


काठमाडौं – आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेलको सम्भावनाबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकैको एक घरमा भएको भेटमा दुई नेताबीच करिब आधा घण्टा एक्लाएक्लै छलफल भएको बताइएको छ। भेटवार्तामा राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्भावित तालमेल तथा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतहरूले जनाएका छन्। यद्यपि छलफलबाट ठोस निष्कर्ष भने ननिस्किएको दुवै पक्षले बताएका छन्।

जेनजी आन्दोलनपछि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र त्यसअघि माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी—बीच चुनावी तालमेलका विषयमा अनौपचारिक तथा औपचारिक छलफल तीव्र बनेको हो।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको बताए। कांग्रेसको तर्फबाट चुनावी तालमेलको प्रस्ताव आएको उनको भनाइ छ। तर, उनले छलफल भए पनि अहिलेसम्म कुनै टुंगो नलागेको स्पष्ट पारे।

 

 

 

 

प्रतिक्रिया