
प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ ५८ वटा चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा यो जानकारी दिएका छन्।
उनका अनुसार, समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिक तर्फको बन्दसूची पेश गरेका छन्।
बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ–आफ्नो निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रहेर चार वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन्।
भट्टराईले भने, “विगतमा बन्दसूची पेश हुनुअघि नै मतपत्र छापिनुले मतदातालाई समस्या भएको थियो। यस पटक भने केवल बन्दसूची पेश गरेका दलका चुनाव चिन्ह मात्र समेटेर मतपत्र छापिनेछ। हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने लगभग निश्चित छ। तर बन्दसूची रुजु प्रक्रिया जारी भएकाले कुनै दलको सूची अस्वीकृत भएमा संख्या घट्न सक्छ।”



कागजपत्र |
