
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच फेरि एकता भएको छ । विगतमा पटक–पटक विभाजन र पुनर्मिलनको चक्रमा फसेका यी दुई दल अन्ततः फेरि एउटै राजनीतिक धारमा उभिएका छन् ।
यसअघि पनि राप्रपा र राप्रपा नेपालबीच एकता भएको थियो । तर एकीकृत पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि तत्कालीन अध्यक्ष कमल थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग हुँदै राप्रपा नेपाललाई पुनः ब्यूँताएका थिए । त्यसपछि उनले सोही वर्ष फागुन ७ गते औपचारिक रूपमा राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।
लगभग तीन वर्षको दूरीपछि आज फेरि दुवै पक्ष एक ठाउँमा आएका छन् । उनीहरूले ६ बुँदे आधार पत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन् । एकीकरणसम्बन्धी संयुक्त विज्ञप्तिमा देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने साझा उद्देश्यका साथ यो निर्णय लिइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक अवस्था, राष्ट्रियता, प्रजातन्त्र र सुशासनका सवालमा एउटै धारणा र गन्तव्य भएकाले पुनः एकताको आवश्यकता महसुस गरिएको जनाइएको छ । विभाजनले शक्ति कमजोर बनाएको निष्कर्षसहित अब एकीकृत रूपमा अघि बढ्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।
बारम्बार फुट्दै–जुट्दै आएको राप्रपाको राजनीतिमा पछिल्लो एकतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजसंस्था, हिन्दु राष्ट्र र राष्ट्रवादी एजेन्डा बोकेका यी दलहरूको एकताले आगामी दिनमा राप्रपा राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने चासो पनि बढेको छ ।
एकीकरणपछि नेतृत्व व्यवस्थापन, संगठन विस्तार र भावी राजनीतिक रणनीतिका विषयमा थप निर्णयहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।




कागजपत्र |
