रामबहादुरलाई गोकुलले ‘पटके समानुपातिक’ भनेपछि…


काठमाडौं-  नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पटक–पटक समानुपातिक प्रणालीमै बस्न रुचाउने नेताहरूमाथि तीव्र कटाक्ष गरेका छन्। कांग्रेस–एमाले मिलेर चुनाव लड्न सक्ने चर्चा भइरहेका बेला पनि चुनावी मैदानमा जान डर किन देखिएको भन्दै उनले प्रश्न उठाएका हुन्।

बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत लेख्दै समानुपातिक कोटामा बारम्बार आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बसिरहँदा यो प्रणालीप्रति विरोध हुनु स्वाभाविक भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो। अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।”

उनले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू पटक–पटक समानुपातिक सूचीमा अटाएर समावेशीताको मर्ममाथि नै आघात पुर्‍याएको उल्लेख गरेका छन्। यसमा विशेष गरी पुरुष नेताहरू बढी देखिएको भन्दै बाँस्कोटाले आलोचना गरेका छन्।

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा पार्टी पदाधिकारीसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नाम परेपछि एमालेभित्रै असन्तुष्टि देखिएको छ। पार्टीभित्र समानुपातिक प्रणालीको दुरुपयोग भएको भन्दै आलोचना चर्किन थालेको हो।

 

प्रतिक्रिया