
कुखुरा, बाख्रा र स्यालले मोर्चा बनाए पनि एमालेलाई केही हानी पुर्याउन सक्दैन : ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनको सन्देश स्पष्ट र राष्ट्रिय स्तरको अर्थपूर्ण रहेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले महाधिवेशनपछि पार्टी पूर्ण रूपमा आम निर्वाचनका लागि तयार भएको बताए।
ओलीले भने, “महाधिवेशनले धेरै प्रश्नको जवाफ दिएको छ। अब निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौं। हामी चुनाव पर्खिरहेका छौं। कहिले होला फागुन २१, बैशाख वा अर्को मंसिर, तर निर्वाचनबाट नै देशले निर्णय लिनेछ।”
उनले निर्वाचनमा लोकप्रियता र अलोकप्रियताको विषय अझै चर्चा हुने भए पनि पार्टीको जनअनुमोदित नेतृत्वको टिमले सबै चुनौती पार गर्न सक्षम रहेको धारणा व्यक्त गरे।
अध्यक्ष ओलीले लोकतन्त्रको जीत अपरिहार्य रहेको उल्लेख गर्दै भने, “खेलमा उत्कृष्ट खेलाडीले नै जित्नेछन्। विशाल एमाले देखेर कांग्रेस र अन्य दलहरू मिल्ने क्रम जारी छ। तर रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौँका मेयर बालेन शाहबीचको एकता दुब्लाहरूको मोर्चाबन्दी जस्तै हो। कुखुरा, बाख्रा र स्यालले मोर्चा बनाए पनि एमालेलाई केही हानी पुर्याउन सक्दैन।”
ओलीले महाधिवेशनले निर्वाचनमा सहभागी हुन एमाले तयार रहेको स्पष्ट संकेत दिएको भन्दै पार्टी अब राष्ट्रिय स्तरको निर्णायक खेलमा होमिन लागेको बताए।



कागजपत्र |
